भक्तपुर २ मा बाम गठबन्धनलाई भव्य स्वागत

भक्तपुर २ मा बाम गठबन्धनलाई भव्य स्वागत

२१६१ पटक पढिएको

भक्तपुर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुलाई घरदैलो कार्यक्रममा सहभागी हुन भ्याइ नभ्याइ छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बाम गठबन्धमा साझा उम्मेदवार महेश बस्नेतलाई पनि अहिले जनताको घरदैलोमा पुगेर मत माग्न चटारो नै छ । 


मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा क्षेत्र २ अन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवार बस्नेत आफ्ना कार्यकर्ताहरुको समूहसहित आफ्नो निर्वाचन क्षेत्रका सूर्यविनायक नगरपालिकाका विभिन्न वडाहरुमा पुग्दा स्थानीय मतदाताहरुले भव्य स्वागत गरेका छन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नंं ४ को घरदैलो कार्यक्रममा मतदाताहरुले बस्नेतलाई स्वागत मात्रै गरेनन्, जेष्ठ नागरिकहरुले विजयको निम्ति अग्रिम शुभकामना पनि दिए । 

 


यो क्षेत्रको विकास निर्माणमा अग्रणी नेतृत्व गरेका बस्नेत आसन्न निर्वाचनमा एकमात्र सशक्त उम्मेदवार भएको स्थानीय कृष्ण खड्काले बताए । भक्तपुरलाई राम्ररी बुझेका र यहाँका जनताको अपेक्षा पूरा गर्नका लागि बस्नेत जत्तिको सशक्त उम्मेदवार अरु पार्टीको नभएको खड्काको दाबी छ । 


त्यसो त बस्नेतसँगै भक्तपुर क्षेत्र नम्बर २ (क) सूर्यविनायक प्रदेशमा बाम गठबन्धनका साझा उम्मेदवार शशिजंग थापा पनि घरदैलो कार्यक्रममा जनताले दिएको उत्साहपूर्ण माया र सद्भाव देखेर उत्तिकै हौसिएका छन् । उनी भन्छन्,‘भक्तपुरको स्थानीय बासिन्दा भएको नाताले पनि यहाँका जनताले बाम गठबन्धनका उम्मेदवारलाई नै विश्वास गर्नेछन् ।’
केही समयअगाडि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा समेत एमाले नेतृत्वलाई बहुमतसहित विजयी गराएका कारण पनि यो क्षेत्रमा अब प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेको नेतृत्व निश्चित भएको थापाको भनाइ छ । 


विगतमा महेश बस्नेतको नेतृत्वमा भक्तपुर ७८ करोडको योजना ल्याउन सफल भएका थिए । त्यस्तै,  उनकै पहलमा मनोहरा करिडोर, मेलम्चीको खानेपानीको निम्ति ट्याङ्की निर्माण, भक्तपुरमा ४८ वटा सडक निर्माण, हनुमन्ते खोलामा ५ वटा पुल निर्माण, मुहानपोखरीमा ३ अर्ब बराबरको ड्याम निर्माण भएको छ भने भक्तपुरमा २ वटा स्याटेलाइट सिटी निर्माणमा समेत अग्रणी भूमिका खेलेका कारण पनि अहिले बस्नेत भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का मतदाताहरुका निम्ति अत्यन्तै लोकप्रिय मानिएका छन् । आसन्न निर्वाचनमा प्रतिनिधिसभा भक्तपुर क्षेत्र नम्बर २ मा उनको विजय सुनिश्चित भएको विश्लेषण समेत गर्न थालिएको छ ।