नेपाल युएईसँग भिड्दै

नेपाल युएईसँग भिड्दै

६९८ पटक पढिएको

नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेटमा नेपालले आज बलियो टोली (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । अघिल्ला दुई खेलमा एक हार र एक जित निकालेको नेपालले तेस्रो खेलमा युएईविरुद्ध खेल्न लागेको हो । विन्डहुकस्थित अफिस पार्कमा नेपाल र युएईबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । युएईविरुद्ध मैदान उत्रँदा नेपाल दोस्रो जितको खोजीमा रहनेछ । तर, युएईको चुनौती पन्छाउन नेपाललाई कठिन हुने देखिन्छ । पछिल्लो समय नेपाल युएईसँग स्तब्ध हुँदै आएको छ । पछिल्लो तीन खेलमा नेपाल युएईसँग लगातार हारेको छ ।

सन् २०१४ देखि अहिलेसम्म युएईसँग नेपालले तीन खेल खेलेको छ । सन् २०१४ मा सम्पन्न आईसीसी क्रिकेट विश्वकप छनोटमा नेपाल युएईसँग १०२ रनले पराजित भएको छ । त्यस्तै, आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम तथा सातौं राउण्डमा पनि नेपाल दुबै खेलमा युएईसँग हारेको छ । यता, नेपाललाई डिभिजन टु शीर्ष स्थानमा रहँदै विश्वकप छनोट यात्रा तय गर्न युएईविरुद्ध जित निकाल्नैपर्ने हुन्छ । डिभिजन टु को बिजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउनेछ । ६ राष्ट्र सम्मलित डिभिजन टु मा नेपाल २  अंक जोडेर तेस्रो स्थानमा छ । समान २ अंक जोडेको युएई दोस्रो स्थानमा रहदा ४ अंक जोडेको क्यानडा शीर्ष स्थानमा छ ।