एएफसी एसियन कप छनोट फुटबलः नेपाल र फिलिपिन्स भिड्ने

एएफसी एसियन कप छनोट फुटबलः नेपाल र फिलिपिन्स भिड्ने

४३ पटक पढिएको

 एएफसी एसियन कप छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले भोलि फिलिपिन्सको सामना गर्ने भएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको कृत्रिम मैदानमा हुने खेलमा नेपाल विजय लक्ष्यका साथ मैदानमा उत्रनेछ । 

नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले विगतका कमजोरीलाई सुधार गर्दै प्रतियोगितामा जित हासिल गर्ने लक्ष्य लिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । 

उहाँले प्रशिक्षणको क्रममा केही खेलाडी चोटग्रस्त भएकाले उनीहरुको अनुपस्थितिमा खेल रणनीति केही परिवर्तन गर्ने उल्लेख गर्दै अघिल्लो खेलमा भएको कमजोरीलाई सुधार्ने बताउनुभयो । 

त्यसैगरी नेपाली टोलीका कप्तान अनिल गुरुङले आफनो टोलीले फिलिपिन्सलाई पराजित गर्ने आशा लिएको बताउनुभयो । यता फिलिपिन्सका प्रशिक्षक थोमस टूलीले भोलिको खेल आफ्नो टोलीका लागि महत्वपूर्ण रहेको बताउनुभयो । 

यसअघि गत चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोलअन्तरले पराजित भएको थियो । त्यसपछिका तीन खेलमा पनि पराजित भएको नेपाल छनोट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालले दोस्रो खेलमा यमनसँग बराबरी खेलेता पनि त्यसपछिका दुई खेल ताजीकिस्तानसँग पराजित भएको थियो ।