एनआरएनए अध्यक्षमा ११ सय ९७ मतका साथ भवन भट्ट विजयी

एनआरएनए अध्यक्षमा ११ सय ९७ मतका साथ भवन भट्ट विजयी

५६ पटक पढिएको

गैरआवासिय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।  संघको राजधानीमा भएको आठौं विश्वसम्मेलनबाट अध्यक्षकी प्रत्यासी जमुना घलेलाई भारी मतान्तरले पराजित गर्दै भट्ट विजयी भएका हुन् 

गएराती सम्पन्न मतगणनामा भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन् भने घलेले ५ सय ८४ मत प्राप्त गरेकी छन्। सम्मेलनमा एक हजार ७८८ एनआरएन मतदानमा सहभागि भएका थिए । 

यस्तै उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य विजयी हुँदा  महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वाचित भएकी  छन् ।  महासचिवमा डा बर्दी केसी, सचिवमा डिबी क्षेत्री विजयी भएका छन् |  कोषाध्यक्षमा हिक्मत थापा निर्वाचित भए ।  गोरखाका जन्मिएका नवनिर्वाचित भट्ट जापानमा व्यवसायमा संलग्न छन् । उनको जापानमा दुई सय ९० रेस्टुरेन्ट रहेको बताइन्छ । 

यसैबीच नवनिर्वाचित अध्यक्ष भट्टले आफूलाई जिताउने सबै एनआरएनलाई धन्यवाद ज्ञापन गरेका छन् ।  उनले चुनावी परिणामलाई स्वाभाविक रुपमा लिई एकजुट भएर अघि बढ्न समेत आह्वान गरे ।  उनले आफ्नो कार्यकालमा एनआरएनका एजेन्डाहरुमा काम गर्ने बताए ।