गोपाल किरातीलाई कारवाही गर्न १८ पोलिटव्यूरो सदस्यको माग

गोपाल किरातीलाई कारवाही गर्न १८ पोलिटव्यूरो सदस्यको माग

२०६ पटक पढिएको

माओवादी केन्द्रका नेता एवम् प्रदेश १ का इञ्चार्ज गोपाल किराती लाई अनुशासनको कारवाही गर्न १८ जना पोलिटव्यूरो सदस्यहरुले माग गरेका छन् । आगामी २५ र २६ गते तय भएको प्रदेश सचिवालयको बैठक किरातीको नेतृत्वमा नबस्ने भन्दै उनीहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई बैठकको अध्यक्षता गरिदिन अनुरोध समेत गरेका छन् ।

१८ पोलिटव्यूरो र एकजना सचिवालय सदस्य गरी १९ जना नेताहरुले अध्यक्ष दाहाललाई पत्रनै लेखेर किरातीलाई कार्वाहीको माग गरेका हुन् । पत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको निर्णयको उल्लंघन गरेको, जिम्मेवारी बहन नगरेको र वाम गठबन्धनविरुद्ध विभिन्न कृयाकलाप गर्दै हिँडेकोले उहाँकै नेतृृत्वमा उक्त बैठक बस्नु अनुचित हुने लेखिएको छ । उता प्रदेश नम्बर सातबाट माओवादी केन्द्रको संसदिय दलको नेताका त्रिलोचन भट्ट चयन हुनुभएको छ । भट्ट डोटी क्षेत्र नम्बर २ बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँ संसदिय दलको नेता भएसँगै माओवादी भित्र विवाद चुलिएको छ । केही सांसदहरुले एकलौटी निर्णय गरेको भन्दै आपत्ती जनाएका छन् ।

माओवादी सचिवालय सदस्य एवं प्रदेश इञ्चार्ज लेखराज भट्टको उपस्थितिमा बसेको संसदीय दलको बैठकले भट्टलाई संसदीय दलको नेता चयन गरेको हो । लेखराज भट्टले नातावादको हिसाबले यो निर्णय गर्न दबाब दिएको माओवादी एक नेताले जानकारी दिनुभयो ।