को को बन्दै छन् प्रदेशका मुख्यमन्त्री 

को को बन्दै छन् प्रदेशका मुख्यमन्त्री 

३१५ पटक पढिएको


काठमाडौं । प्रदेशका सांसदहरुको सपथग्रहणसँगै अब प्रदेश सरकार गठनको बाटो खुलेको छ । बहुमत सांसदसहित मुख्यमन्त्री दाबी गरेमा प्रदेश प्रमुखले बहुमतप्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री चयन गर्नुपर्नेछ । आगामी फागुन ३ भित्र सबै प्रदेशमा मुख्यमन्त्री चयन भइसक्नुपर्ने संवैधानिक बाध्यता छ । प्रदेशसभा निर्वाचनको परिणाम हेर्दा इतिहासमा पहिलोपटक चयन हुन लागेका ७ जना मुख्यमन्त्रीमध्ये नेपाली कांग्रेसले एउटा पनि नपाउने देखिएको छ । मधेसवादी र माओवादीले एक(एकवटा मुख्यमन्त्री पाउने देखिएको छ । यद्यपि माओवादीले दुईवटा प्रदेशमा आफ्नो दाबी गरेको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल पार्टीको प्रदेशसभा संसदीय दलको नेता निर्वा्चित भएसँगै उहाँको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । पोखरेललाई चुनावअघि नै ५ नम्बर प्रदेशको मुख्यमन्त्रीमा सहमत गराएर दाङ क्षेत्र २ को प्रतिनिधिसभामा माओवादी नेता कृष्णवहादुर महरालाई सिट मिलाइएको थियो ।
प्रदेश नम्बर १ मा शेरधन राईलाई मुख्यमन्त्री बाटो खुल्ने भएको छ । सो प्रदेशमा राई लिम्बु लगायत किराँत जनजाति समुदायको बाहुल्य रहेकाले शेरधनलाई मुख्यमन्त्री बनाउँदा जातीय सन्तुलन मिल्ने र जातीय पहिचानको कुरा गर्नेहरुले पनि जवाफ पाउने तर्क गरिएको छ । १ नम्बर प्रदेशबाट भीम आचार्य र हिक्मत कार्कीले पनि मुख्यमन्त्रीको दावी गर्नुभएको छ ।
प्रदेश नम्बर ३ को मुख्यमन्त्रीका लागि चुनावअघि नै प्रदेश कमिटी सचिवालय बैठकले एमाले पार्टी उपाध्यक्ष तथा प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको नाम सर्वसम्मत गरेको हो । तर, यसबीचमा राजेन्द्र पाण्डे,डोरमणी पौडेल, केशव स्थापित र सानुकुमार श्रेष्ठले पनि दावी गरेका गर्नुभएको छ ।
प्रदेश नम्बर ६ मा एमालेका दुई पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला र यमलाल कडेलले मुख्यमन्त्रीको दाबी छोड्नुभएको छैन् । तर, यो प्रदेशमा माओवादीले पनि मुख्यमन्त्रीको दाबी गरेको छ । प्रदेशका ४० सिटमध्ये एमालेले २० सिट जितेको छ भने कांग्रेस, माओवादी र राप्रपाले २० सिट जितेका छन् । यो प्रदेशमा एमाले बहुमतको अवस्थामा रहेको छ ।
माओवादीले प्रदेश नम्बर ६ र ७ को मुख्यमन्त्री दाबी गर्ने सम्भावना बढेको छ । प्रदेश नम्बर ६ बाट मुख्यमन्त्रीमा महेन्द्रवहादुर शाही र नरेश भण्डारीको दावी छ । तर, ६ नम्बर प्रदेशमा एमाले एक्लैको २० सिट छ भने अरु सबै पार्टीको मिलाउँदा २० सिट छ । प्रदेश नम्बर ७ बाट मुख्यमन्त्रीका लागि माओवादीका वीरमान चौधरी र झपट बोहोराको नाम चर्चामा छ । थारु समुदायको भएका कारण मुख्यमन्त्रीमा चौधरीको सम्भावना बढी रहेको छ ।
मधेसवादी गठबन्धनको बहुमत रहेको प्रदेश २ मा भने मुख्यमन्त्रीका लागि संघीय समाजवादी फोरमबाट मात्रै तीनजना दाबेदार देखिएका छन् । लालबाबु राउत, शैलेन्द्र साह र बिजय शाहमध्ये एक मुख्यमन्त्री बन्ने बताइएको छ ।