सुनियोजित ढंगबाट ३ नम्बर प्रदेशको राजधानी सारियोः एमाले नेता बस्नेत

सुनियोजित ढंगबाट ३ नम्बर प्रदेशको राजधानी सारियोः एमाले नेता बस्नेत

२०२३ पटक पढिएको

भक्तपुर, माघ ४ । नेकपा एमालेका नेता तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश वस्नेतले कमल थापा र नारायणमान बिजुज्छेको सुनियोजित योजना कारण अन्तिम अवस्थामा आएर ३ नम्बर प्रदेशको राजधानी हेटौडा सारिएको बताएका छन् ।  

प्रदेश नम्बर ३ को राजधानी भक्तपुर हुनुपर्ने माग राख्दै गरिएको विरोध कार्यक्रममा सरकारले एकलौटी रुपमा मनोमानी ढंगले हेटौडालाई अस्थायी मुकाम तोक्नु दुर्भाग्यपूर्ण भएको बस्नेतले बताए । उनले भने, ‘कमल थापाले आफ्नो समाप्त भएको राजनीति बचाउन अन्तिम अवस्थामा आएर यस्तो निर्णय गर्न सरकारलाई दबाब दिएका हुन्, यसलाई भक्तपुरकै बिजुक्छेले साथ र समर्थन दिएका छन् ।’

भक्तपुरको सानो ठिमी बातावरणीय, खुल्ला क्षेत्र तथा हरियाली र भौगालिकताको हिसावले मिनि सिंहदरवारको रुपमा रहेको बताउँदै बस्नेतले भने, ‘यसलाई सहि तरिकाले सदुपयोग गरेमा राज्यले अरबौं रकम विकासको लागि खर्चिन पाउनेछ ।’

भक्तपुरको सानो ठिमी स्थित रहेको शिक्षा विभागको कार्यालय जहाँ १२१ वटा कोठाहरु रहेका छन् भने २५० रोपनी जग्गा रहेको छ बस्नेतले बताए । अहिलेको प्रादेशिक सरकार चलाउन आवश्यक पर्ने भौतिक संरचना तयारी अवस्थामा रहेको र प्रदेशको सम्पूर्ण कार्यालयहरु सञ्चालन गर्न शिक्षा विभाग नै काफि रहेको उनले बताए । 

प्रदेशको राजधानीको निम्ति आवश्यक पर्ने भौतिक संरचना अहिलेनै विद्यमान रहेको र यसबाट नेपाल सरकारको अरबैं रुपैया जोगिने बताउँदै बस्नेतले भने, ‘कृषि विकासको तालिम केन्द्रलाई प्रदेश सभा बनाउन उपयुक्त ठाउँ रहेको आम भक्तपुर वासीले मात्र भनेको नभई स्वयं नेपाल सरकारको प्राविधिक टोलिले समेत आफ्नो प्रतिवेदमा स्पष्ट रुपमा नै जनाएको छ ।’

प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले कमल थापालाई खुशी पार्न ३ नम्बर प्रदेशको राजधानी हेटौडा लगिएकोका भक्तपुरबासी आन्दोलित भएका छन् । भक्तपुरलाई ३ नम्बर प्रदेशको राजधानी बनाउन गरिएको आन्दोलनमा नेपाली काँग्रेस लगायतका दलहरुले समेत समर्थन गरेको छ । 

जिल्ला समन्वय समिति भक्तपुरको संयोजकत्वमा निर्वाचित जनप्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी र नागरिक समाजका उद्योगी र व्यवसायी समेतको सहभागितामा आज बसेको बैठकले तत्काल ३ नं. प्रदेशको राजधानी भक्तपुरलाई तोक्न सरकारसँग माग गरेको छ । बैठकले नेपाल सरकार प्रदेश प्रमुख र सम्पूर्ण प्रदेश सदस्यहरुसँग औपचारिक रुपमा सरकारको एकलौटी र अव्यवहारिक निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।