डा. गोविन्द केसीलाई तत्काल पक्राउ गर्न सर्वोच्चको निर्देशन : प्रहरी पक्राउ गर्न हिडे  (आदेशसहित)

डा. गोविन्द केसीलाई तत्काल पक्राउ गर्न सर्वोच्चको निर्देशन : प्रहरी पक्राउ गर्न हिडे (आदेशसहित)

११११ पटक पढिएको

सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रा. डा. गोविन्द केसीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सर्वोच्च अदालतले डा गोविन्द केसीलाई अदालत अवहेलनाको मुद्दामा मंगलबार बिहान उपस्थित गराउन आदेश दिएको छ। न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आजै सर्वोच्चको प्रशासनबाट टिप्पणी उठाउँदै दर्ता गरेको निवेदनमा यस्तो आदेश जारी गरिएको हो। डा केसीले आइतबार र सोमबार अदालतको मानहानि गर्ने गरी अभिव्यक्ति दिएको भन्दै सर्वोच्च प्रशासनले आफैं टिप्पणी उठाएर इजलासमा पेश गरेको थियो। सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौडेलले प्रतिवेदन तयार पार्दै इजलाससमक्ष पेश गरेका थिए। प्रशासनले पेश गरेको उक्त टिप्पणीमाथि आदेश गर्दै सर्वोच्च मंगलबार बिहान नौ बजे गृह मन्त्रालय मार्फत केसीलाई सर्वोच्चमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयको नाममा आदेश दिएको हो। डा केसीले न्यायमा किनबेच भएको भन्दै प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामाको मागसहित आजबाट अनसन सुरु गरेका छन्। डा. केसीको नाममा जारी भएको विज्ञप्ति र समाचारहरु हेर्दा अदालतको फैसलाविरुद्ध जनमानसमाभैम पर्ने गरी न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशविरुद्ध अमर्यादित, अशिष्ट र अवहेलनाजनक अभिव्यक्ति उल्लेख भएको पाइएको भन्दै आदेशमा भनिएको छ, अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? निजलाई पक्राउ गरी २०७४/९/२५ गते विहान ९ बजे अदालतमा हाजिर हुन उपस्थित गराउनु भनि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयका नाममा लेखी पठाउनू ।’