'शेरबहादुर' माघमा आउने तयारी

'शेरबहादुर' माघमा आउने तयारी

६८० पटक पढिएको

नेपाली चलचित्र 'शेरबहादुर'ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । सन्की मान्छेको कथामा निर्माण भएको चलचित्र अब माघ १९ गते प्रदर्शन हुने भएको छ । शेरबहादुरमा निडर, सन्की र बलियो र आफ्नो लक्ष्य प्राप्तिका लागि केही योजना बनाउने व्यक्तिको कथा रहेको छ । त्यही योजना भित्र रुमलिएका अन्य पात्रसँगको अवस्था चलचित्रले चित्रण गरेको छ ।

चलचित्रमा मुख्य भूमिकामा वरिष्ठ कलाकार सुनिल थापा देखिएका छन् । उनीसँगै कर्मा, रविन्द्र झा, मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ । यति बेला चलचित्र निर्माण टिम प्रचारप्रसारको तयारीमा लागेको छ । चलचित्रको नाम सुन्दा राजनीतिको गन्ध आए पनि यो कुनै राजनीतिसँग सम्बन्धित नभएको निर्माण पक्षले जनाइएको छ । निर्माण पक्षको अनुसार चलचित्रको अधिकांश सन सेटमा खिचिएको हो ।

सेट निर्माण गर्न २५ लाख बढी लागेको निर्माण पक्षको दाबी रहेको छ । चलचित्रलाई आर राजवंशीले निर्देशन गरेका हुन् । निर्माताका रूपमा चलचित्रमा वरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । गौरीशंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० वर्षदेखि अनवरत रूपमा लाग्दै आइरहेका छन् ।