कसरी चल्दैछ माओवादी अध्यक्ष ‘प्रचण्ड’ को दुर्इघेरे सचिवालय

कसरी चल्दैछ माओवादी अध्यक्ष ‘प्रचण्ड’ को दुर्इघेरे सचिवालय

३४४ पटक पढिएको

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिका ‘हट केक’ हुन् । दस वर्षे सशस्त्र द्वन्द्व, शान्तिप्रक्रियादेखि अहिलेसम्मको देशको राजनीतिमा अग्रणी भूमिका निर्वाह गर्दै आएका दाहालको दैनिकी अत्यन्त व्यस्त छ ।

छोरा प्रकाशको कुशल व्यवस्थापनले उनको व्यस्त दैनिकी सहज बनाएको थियो । तर प्रकाशको निधनपछि अहिले उनको सचिवालयको सहज व्यवस्थापन चुनौतीपूर्ण भएको छ । प्रकाशको ‘अब्बल’ व्यवस्थापनमा उनी निस्फिक्री र ढुक्क थिए ।

सचिवालयमा प्राविधिक, सांगठनिक र व्यवस्थापनमा अहिले उनलाई छोराकोे टड्कारो अभाव खट्किएको छ । पार्टी संगठन, दैनिक कार्यक्रमका अतिरिक्त दाहालले अहिले घर(परिवारलाई पनि बढी समय दिनु परिरहेको छ । अहिले उनको सचिवालयलाई ‘समय व्यवस्थापन’ गर्न सबैभन्दा धेरै कठिनाइ हुन थालेको छ ।

दाहालले प्रकाशको अभावमा आफ्नो सचिवालय हेर्ने गरी नयाँ व्यक्तिलाई नियुक्ति गर्ने सोचेका छन् तर त्यसको टुंगो लगाइसकेका छैनन् । खुमलटार स्रोतका अनुसार उनले राजनीतिक घटनाक्रम केही सहजतामा चल्नेबित्तिकै सचिवालय व्यवस्थित गर्ने योजना बनाएका छन् ।

पहिलो घेरा दाहालले अहिले पार्टीभित्र सबैभन्दा बढी कृष्णबहादुर महराको विश्वास गर्छन् । पोस्टबहादुर बोगटीको निधनपछि उनले आफ्ना विश्वासपात्रका रूपमा महरालाई लिन थालेका हुन् ।

युद्धकालदेखि पार्टी टुटफुट, एकता सबैजसो उतारचढावमा अन्तिम अवस्थासम्म दाहाललाई महराले कहिल्यै साथ छोडेनन् । पार्टी भित्री र बाहिरी कुनै महत्वपूर्ण निर्णय लिनुपर्दा दाहालले एकाध घटनाबाहेक पहिलो छलफल महरासँगै गर्छन् । उनका लागि दाहालनिवास खुमलटारदेखि अन्य कार्यक्रम र छलफलमा कुनै रोकतोक छैन । उनले सहजै दाहालसँग जुनकुनै समयमा पनि पहुँच राख्छन् ।

दाहालले आफूले लिने नयाँ स्टेपपछि त्यसलाई व्यवहारतः कार्यान्वयनमा लैजानका लागि भने वर्षमान पुनलाई सम्झने गर्छन् । प्रायःजसो पार्टी निर्णय वा दलीय सहमतिलाई कार्यान्वयनमा लैजानका लागि बनाइने ‘कार्यदल’ मा दाहालले वर्षमानलाई समेट्न छुटाउँदैनन् ।

पछिल्लोपटक एमाले(माओवादी चुनावी तालमेलको भागबन्डा लगाउन बनाइएको कार्यदलभित्र पनि उनी समेटिएका थिए । माओवादी पार्टी एउटै हुँदासम्म दाहालको पहिलो घेराभित्रै पर्थे, रामबहादुर थापा पनि । तर बीचको केही वर्ष थापा पार्टी विभाजनमा गएपछि उनको ठाउँ ‘रिप्लेस’ गर्न आइपुगे नारायणकाजी श्रेष्ठ ।

अहिले फेरि थापासमेत एकै पार्टीमा रहेपछि दाहालले थापा र श्रेष्ठ दुवैलाई औपचारिक संवादलगायत कार्यक्रममा सँगसँगै अगाडि बढाउन थालेका छन् । संगठनमा राम्रो ‘होल्ड’ राख्नसक्ने भएकाले उनले पार्टी संगठनको जिम्मा थापालाई लगाएका छन् । केही नयाँ निर्णयमा पुग्नुअगाडि महरासहित थापा र श्रेष्ठसँग पनि परामर्श गर्ने गरेका छन् ।

दाहालका प्रमुख स्वकीय सचिवका रूपमा जोगबहादुर महराले काम गरिरहेका छन् । उनी दाहाल जता पुग्छन्, सँगसँगै हुन्छन् । अहिले प्रकाशको अभावमा दाहालको सम्पूर्ण दैनिक कामको व्यवस्थापन मिलाउने उनको भूमिका बढेको छ ।

दाहालको आफ्नै परिवारभित्र भाइ नारायण, छोरी रेणु र ज्वाईंहरू अर्जुन पाठक तथा सागर केसी पनि भेटघाटलगायतका कार्यक्रमको व्यवस्थापनमा कुनै न कुनै रूपमा जुटिरहेकै हुन्छन् ।

दोस्रो घेरा

दाहालको दोस्रो घेरामा हरिबोल गजुरेल, जर्नादन शर्मा, अग्नि सापकोटा, चक्रपाणि खनाल, शक्ति बस्नेत, पम्फा भुसाललगायत नेता छन् । पार्टीले थप केही निर्णय लिनुपर्दा दाहालले पार्टीभित्र केन्द्रीय कार्यालयको बैठक बोलाएर निर्णय लिने गर्छन् । तर त्यसभित्र पनि थप छलफल गर्नुपर्दा वा सहयोग लिनुपर्दा उनले गजुरेल, शर्मा, सापकोटा, बस्नेत र भुसाललगायत नेतालाई बोलाउने, परामर्श गर्ने गर्छन् ।

सुरक्षा सहयोगीका रूपमा दाहालसँग लामो समयदेखि पार्टी नेता सन्तु दराईले साथ दिइरहेका छन् । निजी निवासदेखि कार्यक्रमहरूमा दाहालको सुरक्षाको जिम्मेवारीमा दराई देखिँदै आएका छन् ।

यसका अतिरिक्त सरकारको सुरक्षाका रुपमा दानबहादुर मल्लको कमान्डले नेतृत्व लिइरहेको छ । मनहरि तिमल्सिना प्रेससँगको कोअर्डिनेसनमा भूमिका खेल्छन् । त्यस्तै कुमार विश्वकर्मा र सञ्जिवलगायत अति विश्वासिला सहयोगी पनि छन्, दाहालका । कुमारले दाहालको गाडी चलाउँदै आएका छन् । (अन्नपूर्ण पोष्ट दैनिक)