काठमाडौंमा विवेकशील साझाका ३ उम्मेदवारको जमानत जफत

काठमाडौंमा विवेकशील साझाका ३ उम्मेदवारको जमानत जफत

१४०२ पटक पढिएको

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौंमा विवेकशील साझाबाट उम्मेदवार बनेका तीन जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर ३, ४ र १० का उम्मेदवारको जमानत जफत भएको हो ।

जमानत जफत हुनेमा कांग्रेस उम्मेदवार गगन थापासँग चुनाव लडेकी विवेकशील साझाकी सुबुना बस्नेत पनि छिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बस्नेतले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार १० प्रतिशत मत ल्याउन नसक्दा जमानत जफत भएको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ ।

सुबुनाले कुल सदर मतमध्ये जम्मा ६ दशमलव ८१ प्रतिशत मत मात्र प्राप्त गरेकी छिन् । काठमाडौं ४ मा जम्मा ४४ हजार ५ सय ८९ मत सदर भएको छ । उक्त क्षेत्रमा ६३ हजार २ सय १५ मतदाता छन् । कुल सदर मतमा सुबुनाले ३ हजार ४० मत प्राप्त गरेकी छिन् । विजयी उम्मेदवार गगनले २१ हजार ५ सय ५८ मत प्राप्त गरेका छन् ।
यस्तै, काठमाडौं क्षेत्र नम्बर ३ का विवेकशीलकी उम्मेदवार सुमित्रा सिंह लामाको पनि जमानत जफत भएको छ ।

सिंहले जम्मा ५ दशमलव ६५ प्रतिशत मत प्राप्त गरेकी छिन्। यो क्षेत्रमा खसेको मतमध्ये ३९ हजार ३ मत सदर मत छ । जसमा सिंहले २२ सय ५ मत ल्याएकी छिन्। उक्त क्षेत्रमा ५३ हजार ८ सय २४ मतदाता छन् । उक्त क्षेत्रका विजयी उम्मेदवार नेकपा एमालेका कृष्णबहादुर राईले १९ हजार १ सय ६९ मत ल्याएका छन्।

जमानत जफत हुने अर्का उम्मेदवार हुन्, काठमाडौं क्षेत्र नम्बर १० का प्रदीप ढकाल। विवेकशीलका ढकालले जम्मा ३ दशमलव ६३ प्रतिशत मत ल्याएका छन् । सदर भएको कुल ५५ हजार ११० मत मध्ये ढकालले २ हजार ३ मत ल्याएका छन्। उक्त क्षेत्रमा ७१ हजार २ सय १ मतदाता छन्। उक्त क्षेत्रका विजयी उम्मेदवार कांग्रेसका राजेन्द्र कुमार केसीले २४ हजार १ सय ९० मत ल्याएका छन् ।