समानुपातिक मतगणनामा नेकपा एमालेको अग्रता यथावत कांग्रेस र माओवादी पछ्याउदै

समानुपातिक मतगणनामा नेकपा एमालेको अग्रता यथावत कांग्रेस र माओवादी पछ्याउदै

९१५ पटक पढिएको

समानुपातिक तर्फको मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले आफ्नो अग्रता यथावत राखेको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसपछिको मत माओवादी केन्द्रले पाएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले १० लाख ६० हजार २ सय २२ मत प्राप्त गरी अग्रता  लिइरहेको छ । यस्तै कांग्रेसले ९ लाख ८४ हजार ६ सय २८  मत हासिल गरिसकेको छ ।

कांग्रेस भन्दा निकै नै पछि रहेको माओवादी केन्द्रले ४ लाख ३५ हजार ५ सय २०  मत प्राप्त गरेको  छ । आयोगको सूचना व्यवस्थापन शाखाका अनुसार, संघीय समाजवादी फोरम नेपालले ६४ हजार ९६ मत प्राप्त गरेको छ । उता पाँचौँ स्थानमा रहेको विवेकशील साझा पार्टीले ५९ हजार र छैटौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ५५ हजार मत प्राप्त गरेको छ । यी दुई दलले ३ प्रतिशत मत पुर्याई  संसदमा सिट सुरक्षित गर्न गन्न बाँकी रहेका स्थानमा  बढी अनुपातमा मत प्राप्त गर्नु देखिएको छ । यी दुई दलको कुनै खास प्रभाव क्षेत्र नभए पनि काठमाडौंबाट धेरै मत ल्याउने अपेक्षा गरिएको  छ । तर काठमाडौंको समानुपातिकको मतगणना आधा सकिँदा दुई दलले अपेक्षा अनुसार मत पाउन भने  सकेका छैनन् ।