निर्वाचन बिथोल्न संलग्नको आरोपमा ९५७ जना समातिए

निर्वाचन बिथोल्न संलग्नको आरोपमा ९५७ जना समातिए

१०९ पटक पढिएको

नेपाल प्रहरीले भोली हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने कार्यमा संलग्न भएको आरोपमा झन्डै १ हजार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९ सय ५७ जनालाई पक्राउ गरेको हो । नेकपाका ६ सय र सीके राउत समूहका १३ जना तथा अन्य ३ सय ४४ जनालाई नियन्त्रणमा लिइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज न्यौपानेले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउँदै उम्मेदवार तथा मतदाताको सुरक्षाका लागि नेपाल प्रहरी लागि परेको बताउनुभयो । उहाँले निर्वाचनका लागि बुथ सुरक्षा टोलीका साथै, पैदल टोली, मोबाइल टोली, सादा पोसाक टोली लगायत रिजर्भ टोली खटाएको जानकारी दिनुभयो । नेपाल प्रहरीले निर्वाचनका लागि देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जनाएको छ ।