मीरगन्ज पुल मर्मत नहुँदा आयात–निर्यातमा असहज, सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु प्रभावित

मीरगन्ज पुल मर्मत नहुँदा आयात–निर्यातमा असहज, सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु प्रभावित

११४ पटक पढिएको

भारतीय पक्षले मीरगन्जस्थित पुल पूर्ण रुपमा मर्मत गरी आयात–निर्यातलाई सहज बनाउने पहल नगर्दा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु प्रभावित भएका छन् । औद्योगिक क्षेत्र प्रभावित भएसँगै विराटनगर भन्सारको राजश्व संकलन पनि आधा घटेको छ ।

सीमावर्ती भारतीय बजार जोगबनी बजार पश्चिममा रहेको मीरगञ्ज खोलाको पुलको गत साउन अन्तिम साताको बाढीले क्षतिग्रस्त भएको थियो । त्यसको पूर्ण रुपमा मर्मत नहुँदा पाँच महिनादेखि आयात–निर्यात प्रभावित भएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताउनुभयो । पुल क्षतिग्रस्त भएपछि भारतीय प्रशासनले मालबाहक ठूला साधन सञ्चालनमा रोक लगाएको थियो ।

पुलको सामान्य मर्मत गरी २० मेट्रिक टनसम्मका सधान चल्न दिए पनि त्यसभन्दा माथि भार क्षमता भएका साधन चल्न दिइएको छैन । आयात निर्यात असहज भएकै कारण दैनिक १० देखि १४ करोड सम्म राजश्व संकलन गर्दै आएको विराटनगर भन्सार कार्यालयमा अचेल मुस्किलले ६ देखि ७ करोड संकलन भइरहेको प्रमुख भन्सार अधिकृत मिमांस अधिकारीले बताउनुभयो ।