सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि - प्रधानमन्त्री देउवा

सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि - प्रधानमन्त्री देउवा

१३४ पटक पढिएको

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो चारवटै सुरक्षा निकायका प्रमुखलाई सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाउनुभएको  छ । निर्वाचन नजिकिँदै गर्दा बम विस्फोटका घटना बढेको भन्दै प्रधानमन्त्री देउवाले असन्तुष्टि जनाउनु भएको हो । 

बैठकपछि गृह सचिव मोहनकृष्ण सापकोटाले शान्ति सुरक्षाको प्रवन्ध मिलाउन आवश्यकता अनुसार न्यूनतमदेखि अधिकतमसम्म बल प्रयोग गरिने निर्णय भएको जानकारी दिनुभयो । त्यस्तै दाङ र उदयपुरमा भएको बम विस्फोटबारे थप अनुसन्धान भइरहेको पनि गृहसचिव सापकोटाले बताउनुभयो ।

बैठकले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप १० लाख रुपैंया दिने निर्णय गरेको छ । म्यादी प्रहरी चौधरी दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार विस्फोटमा घाइते हुनुभएको र उपचारका क्रममा उहाँको हिजो निधन भएको हो ।