निर्वाचन परिणाम सात दिनमा : निर्वाचन आयोग

निर्वाचन परिणाम सात दिनमा : निर्वाचन आयोग

१७० पटक पढिएको

निर्वाचन आयोगले दुवै चरणमा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको परिणाम एक साताभित्रै सार्वजनिक गर्ने जनाएको छ । आयोग प्रवक्ता नवराज ढकालले प्रत्यक्षतर्फको परिणाम साताभित्रै सार्वजनिक गर्न आवश्यक गृहकार्य थालिएको जानकारी दिनुभयो । यसैगरी, प्रदेशसभाको प्रत्यक्षतर्फको परिणाम पनि साताभित्रै ल्याउने आयोगको तयारी छ । आयोगले स्थानीय निर्वाचनबाट पाठ सिकेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम जतिसक्दो चाँडै ल्याउने गरी गृहकार्य थालेको हो ।

आयोग प्रवक्ता ढकालका अनुसार २१ गते दोस्रो चरण निर्वाचन सकिएलगत्तै पाँच बजेबाटै पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाको मतगणना एकैपटक सुरु गरिने जानकारी दिनुभयो । दोस्रो चरणमा निर्वाचन हुने अधिकांश जिल्ला सुगम रहेकाले मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्न धेरै समय नलाग्ने आयोगले जनाएको छ ।