अब घरघरमा खाना पकाउन बिजुलीको तार पुग्नेछः प्रधानमन्त्री ओली

अब घरघरमा खाना पकाउन बिजुलीको तार पुग्नेछः प्रधानमन्त्री ओली

३२३ पटक पढिएको

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा खाना पकाउन अब बिजुलीको तार पु¥याउने बताउनुभएको छ । 

एसियाली विकास बैंक तथा लुम्बिनी विकास कोषको सहकार्यमा साझा यातायातले सञ्चालनमा ल्याएको बिजुली बसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विज्ञानमा प्रविधिको विकासले फड्को मारेको भन्दै खाना पकाउन ग्याँसको पाइपलाइन भन्दा बिजुलीको तार उपयुक्त हुने बताउनुभएको हो । 

उहाँले नेपालले धुलो, धुँवा तथा ध्वनि प्रदुषण नियन्त्रण गर्ने लक्ष्य लिएकाले सन् २०५० सम्ममा पेट्रोलियम पदार्थको उपभोगलाई विस्थापित गर्दै विद्युतीय परिवहनको सञ्चालनमा बढी प्रयोगमा ल्याउने बताउनुभयो । 

हाललाई साझाले ५ वटा विद्युतीय बस सञ्चालनमा ल्याउदैछ । चीनबाट ल्याएका यी बसहरु चीनको बी वाइ डी कम्पनीसँग खरिद गरिएको हो । बस काठमाडौंमै गुड्ने की लुम्बिनीमा गुड्ने भन्ने कुरा अझै निश्चित नभएको साझा यातायातका सञ्चालक कनकमणि दीक्षितले बताउनुभयो । यसका लागि लुम्बिनी विकास कोषसँग साझायातायातको एम ओ यु भइसकेपछि बस कहाँ गुड्ने उहाँले जानकारी दिनुभयो । साथै उहाँले अहिले बस नेपालको सडकमा प्रभावकारी होला की नहोला भनी टेस्ट ड्राइभ गरिने र त्यसपछि चालकलाई प्रशिक्षण दिइने पनि बताउनुभयो । 
यसैगरी प्रदूषण नियन्त्रणमा ठूलो टेवा पुग्ने बताउदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले दिगो विकासका लागि दिगो उर्जाको अवधारणालाई अघि सार्दै पशुुपति, लुम्बिनी लगायतका धार्मिक क्षेत्रहरुमा विद्युतीय बस सञ्चालनमा ल्याइने योजना रहेको बताउनुभयो । 

चालकसहित २० सिट क्षमताका यी अपाङमैत्री बसहरु एक पटक चार्ज गरेपछि २५० किलोमिटर गुड्ने जनाइएको छ ।