राज्यले नागरिकलाई सुरक्षाको अनुभूति दिन सकेन :  सुनिता दनुवार, मानव बेचबिखनविरुद्धकी अभियन्ता

राज्यले नागरिकलाई सुरक्षाको अनुभूति दिन सकेन : सुनिता दनुवार, मानव बेचबिखनविरुद्धकी अभियन्ता

२९० पटक पढिएको

काठमाण्डौ । मानव बेचबिखनविरुद्धकी अभियन्ता एवं अधिकारकर्मी सुनिता दनुवारले राज्यले नागरिकको सुरक्षाको अनुभूति दिन नसकेको बताउनुभएको छ । 

क्यापिटल एफ.एमको विशेष कार्यक्रम कमन इश्यूमा कुराकानी गर्दै दनुवारले एउटा बालक वा बालिका आफ्नै घर, समाज र वरिपरि समेत सुरक्षित नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो घर,समाज र वरिपरि नै बालबालिकाको लागि सुरक्षित छैन भने बालअधिकाको नारा हामीले केका लागि लगाइरहेका छौ ?’ 

अहिले सिंहदरवार गाउँ–गाउँमा पुगेको भनिएतापनि स्थानीय सरकारले नागरिकको सुरक्षा गर्न नसकेको दनुवारले गुनासो गर्नुभयो । पछिल्लो सार्वजनिक घटनाले बालिकाहरु जोखिममा परेको देखिएतापनि सारमा बालकहरु पनि उच्च जोखिममा रहेको दुनवारले बताउनुभयो ।

केही समय अगाडि भक्तपुरमा एक बालकको अपहरण पश्चात हत्या भएको प्रसङ्ग जोड्दै दनुवारले तुलनात्मक रुपमा बालिकाहरु जोखिममा रहेतापनि बालकहरु पनि सुरक्षित नरहेको बताउनुभयो । 

समाजमा व्याप्त यस्ता अपराधिक घटनालाई राजनीतिक शक्ति संरचनाले समेत बचाउ गरिरहेको प्रति गहिरो दुःख व्यक्त गर्दै दनुवारले शक्तिको दुरुपयोग हुँदा यस्तो घटना भएको बताउनुभयो ।  

निर्मला पन्तको घटनामा पनि दोषीलाई कारबाही गर्न नसक्नु, विभिन्न समयमा फरक–फरक खालको सूचनाहरु बाहिर आउनुले पनि यसमा राजनीतिक शक्ति संरचनाले काम गरिरहेको दनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जबसम्म यस्ता अपराधीहरुलाई कानुनी कारबाहीमा ल्याउन सकिँदैन, तबसम्म उनीहरुको मनोबल बढिरहेको हुन्छ ।’

निर्मला पन्तको हत्याको दोषी अहिलेसम्म सार्वजनिक हुन नसक्दा बालबालिका, नागरिक समाज र अधिकारकर्मीहरुको समेत मनोबल गिरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घटना भएको ५० दिन बित्दा समेत राज्यले अपराधी सार्वजनिक गर्न सक्दैन भने सामान्य नागरिकको मनोबल कसरी उच्च हुन सक्दछ ?’ 

उहाँसँगको विस्तृत अन्तरवार्ता क्यापिटल एफ.एम ९२.४ मेगाहर्जमा शनिवार विहान ७ बजे सुन्न सकिनेछ ।