अमेरिकामा सुवेदी र विश्वकर्मा सम्मानित

अमेरिकामा सुवेदी र विश्वकर्मा सम्मानित

४९८ पटक पढिएको

बोस्टन, अमेरिका । युवक कवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती तथा राजमित्र स्मृति दिवसको अवसर पारेर अमेरिकाको बोस्टनमा युवा कवि लालगोपाल सुवेदीलाई नगद र सम्मानपत्र सहित ‘राजमित्र स्मृति प्रज्ञा पुरस्कार’द्वारा सम्मान गरिएको छ विगत तीन दशकदेखि स्तरीय रचनाहरू प्रदान गर्दै कविता, बालसाहित्य, गीत, निबन्ध र समालोचनाका दर्जनभन्दा बढी कृति प्रकाशन गरेबापत उनलाई उक्त पुरस्कारद्वारा सम्मान गरिएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टर तथा राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा सन्चालित उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय महासचिव  रअध्यक्ष भई नेपाली भाषा तथा साहित्यको श्रीवृद्धिका लागि अहोरात्र खटेर च्याप्टर विस्तार, आजीवन सदस्यता वृद्धि र अन्तर्राष्ट्रिय स्तरका सभासम्मेलनमा संगठनात्मक र प्रबन्धात्मक कुशलता प्रदर्शन गरेबापत पदम विश्वकर्मालाई सम्मानपत्रद्वारा विशेष सम्मान प्रदान गरिएको

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा र राजमित्र स्मृति प्रज्ञा- प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले ‘शैव’ले उक्त कार्यक्रममा पुरस्कृत व्यक्तित्व लालगोपाल सुवेदीले युवक कवि तथा माध्यमिक कालका प्रवर्तक मोतीराम भट्टले देवता र राजामहाराजाहरूको स्तुति गर्ने प्रचलनलाई मोड्दै शिष्ट श्रृंगारिक तथा तात्कालिक युगसापेक्ष देशप्रेम, प्रकृतिप्रेम र मानवीय वृत्तिहरूको उद्घाटनतर्फ डोर्‍याएर नवयुगको आमन्त्रण गरेको र संगठनात्म, प्रबन्धात्मक र संस्थागत कार्यहरूद्वारा नेपाली साहित्यलाई व्यापक रूपमा उठाएको तथ्यमाथि प्रकाश पारे ।

राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले शैवले निकट भविष्यमै एउटा पुरस्कार बोस्टनमा र अर्को पुरस्कार अन्तर्राष्ट्रिय स्तरमा प्रदान गर्नका लागि गृहकार्य गरिरहेको जानकारी दिए । राजमित्र प्रज्ञा प्रतिष्ठानका संस्थापक तथा संरक्षक साहित्यकार सुशील नेपालले आफ्ना पिता राजेन्द्रप्रसाद नेपाल ००७ सालको प्रजातांत्रिक आन्दोदलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भटराईले अगुवाइ गरेको आन्दोलनमा सरिक भएर रेडियो नेपाल र छापाखानाको माध्यमबाट भाषिक, साहित्यिक र प्रजातांत्रिक योगदान गरेकाले पिताकै भावनाको सम्मान र विस्तारका लागि भाषिक साहित्यिक योगादान गर्ने व्यक्तिलाई प्रोत्साहित गर्नका लागि लागिपरेकोले पुरस्कारको परम्परालाई निरन्तरता दिनेतर्फ लागिपरेको धारणा प्रकट गरे ।

स्मरणीय छ पिता राजेन्द्रप्रसाद र माता मित्रविन्ध्या नेपालका नाउँमा स्थापित उक्त पुरस्कार सन् २०१५ देखि दिन थालिएको हो र यस अगाडि साहित्यकार भारती गौतम, दिनेशराज भण्डारी तथा साहित्यकार गोबर्धन पूजाले प्राप्त गरिसकेका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय महासचिव गोबर्धन पूजाले बोस्टनको राजमित्र प्रांगणमा मोती जयन्ती मनाइरहँदा आफूले र पुरस्कृत व्यक्तित्व लालगोपाल सुवेदीले नेपाल सरकारले दिएका राष्ट्रिय स्तरका युवावर्ष मोती पुरस्कार र नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा पदकले र आज प्रदान गरिएको सम्मानले समेत सम्मानित हुँदाको प्रसंगले गौरवीबोध हुने र भावनात्मक निकटताको अनुभूति हुने विचार प्रकट गरे ।

अनेसास केन्द्रका अध्यक्ष पदम विश्वकर्माले कुनै पनि घर बलियो बन्न जग र पिलर बलियो हुनु जरूरी भएझैँ अनेसास सबल बन्नका लागि अनेसासका शाखा र च्याप्टरहरू सिर्जनात्मक , संगठनात्मक र आर्थिक दृष्टिले बलियो हुनुपर्ने धारणा राखे ।बोस्टनमा विगत ६ वर्ष यता निकै राम्रा राम्रा र साहित्यिक मूल्य र अर्थ राख्ने धेरै कामहरू भएकामा यस अवधिमा खटिरहेका सम्पूर्ण व्यक्तिहरूप्रति विशेष आभार प्रकट गरे साथै हालै सम्पन्न निर्वाचनले प्रजातांत्रिक प्रकृयालाई बलियो बनाउन सहयोग गरेको हुँदा यसबाट प्राप्त नतिजालाई सम्मान गर्दै अनेसास र नेपाली भाषासाहित्यलाई विश्वव्यापी बनाउने महायज्ञमा सबै एकजुट भएर होमिनका लागि आग्रह गरे ।

उक्त अवसरमा मोतीरामको पदचाप पछ्याउँदै महेश्वर पन्तले दुईवटा गजल वाचन गरे रामचन्द्र पौडेल रम्घालीले समस्यापूर्ति कविता सुनाए । दीपा राई पुन, अच्युत अधिकारी, हरिमाया अधिकारी, अग्नि पराजुली, सिम्रन पौडेल, मनोज आचार्य, अनु शाह, गण्डकी पुत्र, यम पौडेल लगायतले कविता,  गीत,  गजल प्रस्तुत गरे । उक्त कार्यक्रमको संचालन यम पौडेलले मीठो कविता शैलीमा गरेका थिए ।