विकासमा ऐक्यबद्धता जरुरी : सांसद बस्नेत

विकासमा ऐक्यबद्धता जरुरी : सांसद बस्नेत

२८९ पटक पढिएको

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्दीय सदस्य एवं सांसद महेश बस्नेतले राजनीतिमा प्रतिस्पर्धा भएता पनि विकासमा ऐक्यवद्धता जनाई काँधमा काँध मिलाई अघि बढ्नुपर्ने बताउनु भएको छ ।
गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरले आयोजना गरेको अन्तरक्रिया तथा आचार संहिता समिक्षा कार्यक्रममा बोल्दै सांसद बस्नेतले गैरसरकारी संस्थाहरुमा भएको भ्रमको अन्त्य गर्नुपर्ने भन्दै नगरपालिका तथा प्रशासनले गैरसरकारी संस्थालाई साथ र सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले धेरै गैर सरकारी संस्थामध्येमा नगन्य मात्रामा केहिले गलत गरे भन्दैमा सबैलाई एउटै डालोमा राखेर नकरात्मक रुपले हेर्दा सामाजिक रुपमा ठूलो क्षती हुने बताउनु भयो ।
सामाजिक क्षेत्रमा गैरसरकारी संस्थाको भुमिका महत्वूर्ण रहेको भन्दै सांसद बस्नेतले कसले के भन्यो भन्दा पनि हामीले के गरिरहेका छौं भनि मूल्याङकन गर्नु नै अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो । कार्यक्रममा सांसद बस्नेतले बिरोधको नाममा राजनीति गर्नेहरुको आयु धेरै दिन नटिक्ने भन्दै भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला, सभागृह, करिडोर, सुरुङ मार्ग, सडक बिस्तार, उज्यालो भक्तपुर, दुर्घटनामुक्त भक्तपुर, अपराधमुक्त भक्तपुर, चोरीमुक्त भक्तपुर, दुर्घटनामुक्त भक्तपुर, बलात्कार मुक्त भक्तपुर, शिक्षित भक्तपुर, स्मार्ट सिटी बन्ने कुरामा कुनै बिरोधले रोक्ने नसक्ने बताउनु भयो ।
कार्यक्रममा प्रदेश ३ का सांसद सरस्वती बाटी, रजनी जोन्छे, प्रतिमा श्रेष्ठले प्रदेश सभामा सामाजिक विकास विधेयक छलफलका लागि प्रस्तुत भएकाले गैसस मैत्री कानुन निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरणमा गैससको भूमिका महत्पूर्ण हुने उहाँहरुको तर्क छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले प्रदेश र केन्द्रिय सरकारले मस्यौदा गरेको विधेयकले गैसस सञ्चालन विधि र प्रक्रियालाई व्यवस्थित बनाउने बताउनु भयो । उहाँले गैससको दर्ता, नबिकरण सिफारिस र अनुगमन गर्ने अधिकार जिससलाई दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्रले स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाहरु स्वायत्त भइसकेको अवस्थामा नगरपालिकाको सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरका लागि गैसहरुसँग सहकार्य गरेर अगाडि बढने बताउनुभयो । उहाँले संस्थाहरुको आवश्यकताका कार्यक्रम र योजना भन्दा पनि नगरपालिका र नगरभित्रका जनताको आवश्यकताका कार्यक्रमहरु सञ्चालन हुनुपर्ने बताउनुभयो । अन्तरक्रियामा बोल्दै गैसस महासंघका केन्द्रिय कोषाध्यक्ष जितराम लामाले स्थानीय, प्रदेश र केन्द्रीय सरकारले कानुन निर्माण गर्दा गैससहरुको भूमिकालाई कमजोर बनाउन नहुनेमा जोड दिनुभयो ।