वीर अस्पताल १२९औं बर्षमा प्रवेश 

वीर अस्पताल १२९औं बर्षमा प्रवेश 

२१८ पटक पढिएको

काठमाण्डौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले शनिवारबाट स्थापनाको १ सय २९ औं बर्षमा प्रवेश गरेको छ । साउन १२ अर्थात् शनिवारबाट १ सय २८ औं वर्ष पुरागरी वीर १ सय २९औं बर्षमा प्रवेश गरेको हो । सर्वसाधारण जनताका लागि भनेर श्री ३ वीर शमशेरले १९४६ साल साउन १२ गते स्थापना गरेको वीर अस्पताल मुलुककै सबैभन्दा जेठो  र ठूलो अस्पताल हो । विगत दुई वर्षदेखि वीर अस्पतालले सर्वसाधारणको उपचारमा थप सेवा र सुविधाकासाथै प्रविधि थप्दै लगेको छ । ६ सय बेडको अत्याधुनिक अस्पताल भवन निर्माणसमेत शुरु भएको छ ।

हाल अत्याधुनिक प्रविधि र सेवा विस्तार गरेको वीर अस्पतालमा छाती, बाथ रोग र हेमाटोलोजीसम्बन्धी विशेषज्ञ सेवा शुरु भएको छ । इमर्जेन्सी विस्तार कार्य भइरहेको छ भने इमजेन्सीलाई पेपरलेस बनाउने प्रक्रिया पनि अगाडि बढेको छ । रक्तक्यान्सर सेवा, क्यान्सर स्क्यानिङ सेवा, २४ घण्टा नै हेमोडाइलाइसिस सेवा र एचाईभी तथा हेपाटाइटिस पोजेटिभ बिरामीको पनि डाइलोसिस सेवा शुरु भएको अस्पताल प्रशासनले जनाएको छ ।

पछिल्लो समय वीर अस्पतालको टिकट काउन्टरलाई डिजिटलाइज गराइएको छ भने रिफर भएर आउने बिरामीको लागि छुट्टै विशेषज्ञ टिकटको व्यवस्था पनि गरिएको छ । दुईवटा सिटीस्क्यान मेसिन जडान भइसकेको छ । त्यस्तै एमआरआई सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ । स्थापना दिवसका अवसरमा अस्पतालले एबीजी सेवा, इमर्जेन्सीमा अत्याधुनिक मेसिन जडान भएको जनाएको छ ।