विश्वकप फुटबलः प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल आज

विश्वकप फुटबलः प्रि–क्वाटरफाइनलका अन्तिम दुई खेल आज

८३ पटक पढिएको

काठमाण्डौ, असार ९९ । रुसमा जारी विश्वकप फुटबलमा आज प्रि–क्वाटरफाइनलको अन्तिम दुई खेल हुँदैछ । आज हुने अन्तिम दुई प्रि–क्वाटरफाइनलमा स्विडेन र स्विजरल्याण्ड तथा कोलम्बिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दै छन् ।

आजको खेलबाट क्वाटरफाइनलमा पुग्ने सबै आठ टोलीको छिनोफानो लाग्ने छ । खेलमा दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउने छन् ।  जारी विश्वकपमा फ्रान्स, उरुग्वे, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियमले अन्तिम आठमा स्थान पक्का गरीसकेका छन् । यो विश्वकपमा अर्जेन्टिना, पोर्चुगल, स्पेन, डेनमार्क, मेक्सिको र जापानले अन्तिम आठको यात्रा गर्न सकेनन् ।

आज हुने पहिलो खेलमा स्विडेन र स्विजरल्याण्डले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ७–४५ मा सुरु हुनेछ । सेन्ट पिटर्सवर्गमा हुने खेलमा दुवै टोलीको लक्ष्य अन्तिम आठमा पुग्नु हुनेछ । प्रतियोगितामा स्विडेन समूह ’एफ’ को बिजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । यस्तै स्विजरल्याण्ड समूह ’इ’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।

यस्तै दोस्रो खेलमा कोलम्बिया र इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दैछ । कोलम्बिया  र इंग्ल्यान्डबीचको खेल नेपाली समय अनुसार राति ११–४५ मा सुरु हुनेछ । स्पार्टक रंगशालामा हुने खेलमा दुवै टोलीको लक्ष्य क्वाटरफाइनलमा पुग्नु रहने छ । कोलम्बिया समूह ’एच’ को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो । इंग्ल्यान्ड भने समूह ’जी’ को उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको थियो ।