इजिप्टको एक मस्जीदमा मारिनेको संख्या २३५  पुग्यो

इजिप्टको एक मस्जीदमा मारिनेको संख्या २३५  पुग्यो

४१ पटक पढिएको

इजिप्टको एक मस्जीदमा गराइएको आतंकवादी आक्रमणमा परी मारिनेको संख्या २ सय ३५ पुगेको छ । राष्ट्रपति अब्दुल फतह अल सिसिले भने साइनाइस्थित मस्जीदमा गरिएको आक्रमणको पूर्ण शक्तिका साथ बदला लिइने चेतावनी दिएका छन् । सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

बन्दूकधारीहरुले उत्तरी गाउँ अल–रावडामा रहेको सो मस्जिदमा प्रवेश गरी बम पड्काएको र घाइतेको उद्धारका लागि आएका एम्बुलेन्सहरुमाथि गोली चलाउँदा मारिनेमा अधिकांश पुरुष, महिला तथा बालबालिका छन् ।आक्रमणकारीले उक्त मस्जिदमा आउने सुफी समुदायलाई निशानामा पारेको हुनसक्ने बताइएको छ । चारवटा गाडीमा आएका हतियारधारीले नमाज पढिरहेका सर्वसाधारणमाथि गोली प्रहार गरेका थिए ।

आक्रमणको कसैले जिम्मा लिएको छैन । तर यसअघि पनि साइनाइ प्रायद्वीपमा आफुलाई इस्लामिक स्टेट बताउने समूहले आक्रमण गरेको थियो । सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीको हटाएयता उक्त क्षेत्रमा आतंकवादी आक्रमण निकै बढेको छ ।