प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधि मण्डल र चीनियाँ पक्षबीच आज महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने

प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधि मण्डल र चीनियाँ पक्षबीच आज महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने

१५३ पटक पढिएको

६ दिने चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधि मण्डल र चीनियाँ पक्षबीच आज महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने भएको छ ।  चीनबाट काठमाडौंसम्म रेल ल्याउने देखि अन्य लगानी र पारवहनका विषयमा नेपाल र चीनबीच आजै सम्झौता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
चिनियाँ भूमि सिगात्सेसम्म आइपुगेको रेल काठमाडौंसम्म जोड्न चीन सहमत भएपनि लगानी लगायतका विषयमा भने टुंगो लागिसकेको छैन । सम्झौतामा लगानीको विषय पनि समेटिने बताइएको छ । नेपाल र चीनबीच यसबारेमा छलफल भइरहेपनि टुंगो भने अझै लागिसकेको छैन । लगानीमध्ये केही चीनले अनुदानमा ब्यहोर्ने र केही ऋण दिने सम्भावना रहेको छ । 
नेपालले चीनलाई सवै अनुदानमा रेलमार्ग बनाइदिन आग्रह गरेपनि चिनियाँ पक्षले शतप्रतिशत अनुदान दिन नसक्ने कुरा घुमाउरो तरिकाले जानकारी गराएको छलफलमा सहभागी नेपालका सरकारी अधिकारीहरुले बताएका छन् ।
नेपालले ऋण लिएरै भएपनि चिनियाँ रेलको परियोजना अघि बढाउने तयारी गरेको छ । बढीमा २ बर्षमा रेलको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने, त्यसपछि काम थाल्ने र ५ वर्षसम्ममा सिगात्सेबाट काठमाडौंसम्म रेल ल्याइपुर्याउने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 
यस्तै, प्रधानमन्त्री ओलीले आजै चीनियाँ समकक्षी ली खछ्याङसँग भेट गर्नुहुनेछ । समकक्षीसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपाल–चीनबीचको द्धौत्य सम्बन्ध र विकासमा साझेदार बन्न चीनलाई प्रस्ताव गर्नुहुने कार्यक्रम रहेकोे छ ।