वन डे क्रिकेटमा अहिलेसम्मकै उच्च किर्तिमानी

वन डे क्रिकेटमा अहिलेसम्मकै उच्च किर्तिमानी

३२४ पटक पढिएको

इंग्ल्यान्डले पाहुना टोली अष्ट्रेलियाविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिजमा जित हात पारेको छ । गए राति भएको तेस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियामाथि २ सय ४२ रनको फराकिलो जित निकाल्दै इंग्ल्यान्डले सिरिज हात पारेको हो । 
नटिङघमा इंग्ल्यान्डले दिएको ४ सय ८२ रनको लक्ष्य पछ्याउको अष्ट्रेलिया ३७ ओभरमा अलआउट हुँदै २ सय ३९ रनमा समेटियो । यो जितसँगै इंग्ल्यान्डले सिरिजमा दुई खेल बाँकी रहदै ३ – ० ले जितेको हो । यसअघि पहिलो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियालाई ३ विकेटले हराएको थियो । दोस्रो खेलमा इंग्ल्यान्ड ३८ रनले विजयी भएको थियो ।
इंग्ल्यान्डले दिएको किर्तिमानी लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाका टार्भिस हेडले ५१ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । अष्ट्रेलियालाई सस्तैमा समेट्न इंग्ल्यान्डका आदील रशिदले ४ विकेट लिए । 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेट गुमाएर ४ सय ८१ रनको किर्तिमानी लक्ष्य तयार गरेको थियो । इंग्ल्यान्डले बनाएको यो लक्ष्य वन डे क्रिकेटमा अहिलेसम्मकै उच्च हो ।
इंग्ल्यान्डको किर्तिमानी रनमा ब्याट्सम्यान एलेक्स हेल्स र जोनी वेरस्टोले शतकीय पारी खेलेका थिए । हेल्सले १ सय ४७ रन बनाएको इनिङ्समा वेरस्टोले १ सय ३९ रनको योगदान दिएका थिए । ९२ बलको सामना गरेका दुवैले सो रन बनाउन १६ चौका र ५ छक्का प्रहार गरेका थिए ।