दाबेदार ब्राजिल र जब्बर स्वीस

दाबेदार ब्राजिल र जब्बर स्वीस

६७ पटक पढिएको

रोस्तोभ — रुसमा विश्वलाई आफ्नो हैसियत के हो भनेर देखाउने संकेत ब्राजिलले दिइसकेको छ । तर आइतबार विश्वकपको समूह ‘ई’ को पहिलो खेलमा जब्बर स्वीट्जरल्यान्डसँग उत्रँदा टोलीले आफ्नो उत्कृष्ट तयारीलाई निरन्तरता दिनुपर्नेछ ।
टिटेको प्रशिक्षणमा पाँचपल्टको विश्व च्याम्पियन ब्राजिलले उत्कृष्ट खेल्दै आएको छ । रुस विश्वकपलाई छनोट हुने पहिलो राष्ट्र पनि ब्राजिल हो । जबकि दक्षिण अमेरिकी छनोट चरणमा ब्राजिलको सुरुआत निकै दयनीय पारामा भएको थियो । अन्तमा ब्राजिल शीर्षस्थानमा रहँदै रुसको टिकट काट्न सफल भयो । 

क्रोएसिया र अस्ट्रियासँगको अभ्यास खेलमा ब्राजिलले राम्रो प्रभाव देखाएको थियो । फरवार्डहरू विलियन, रोबर्टो फिर्मिनो, ग्याब्रियल जेसस, फिलिप कोटिन्हो र प्रमुख स्ट्राइकर नेयमर सबै राम्रो लयमा देखिएका थिए । पछिल्लो विश्वकप आयोजकको हैसियतमा खेलेको ब्राजिललाई सेमिफाइनलमा जर्मनीले ७–१ ले धुलो चटाइदिएको थियो । ब्राजिलको यस कमजोर प्रदर्शनले २०१५ र २०१६ को कोपा अमेरिकामा पनि निरन्तरता पायो । जसका कारण रक्षात्मक शैली अपनाएका प्रशिक्षक डुंगाले जागिरबाट हात धुनुपर्‍यो । उनकै स्थानमा टिटे ल्याइएको थियो ।

उनले साओ पाउलोको कोरिन्थिएन्सलाई २०१२ मा कोपा लिबेर्टाडोरेज कप दिलाएका थिए । कोरिन्थिएन्सले चेल्सीमाथि असुहाउँदो विजय हात पार्दै त्यसपछि क्लब विश्वकप नै जितेको थियो । विद्यालयमा शारीरिक शिक्षाका शिक्षक रहिसकेका टिटेले ब्राजिली टोलीलाई डुंगा र त्यसअघिका प्रशिक्षक लुइस फिलिप स्कोलारीको समयमा भन्दा धेरै आक्रामक बनाएका छन् । टिटेको प्रशिक्षणमा ब्राजिलले निकै लोभलाग्दो प्रदर्शन गरेको छ । टोलीले २१ मध्ये १७ खेल जितेको छ र १ खेलमा मात्र हारेको छ । उनले हरेक खेलमा नयाँ कप्तान बनाउने गरेका छन् । यसले खेलाडीलाई अतिरिक्त जिम्मेबारी बढाएर हौसला प्रदान गर्ने गरेको पाइएको छ । 

ब्राजिलले छनोट चरणमा चिरप्रतिद्वन्द्वी अर्जेन्टिनामाथि ३–० को जित हात पारेको थियो । हालैमात्र जर्मनीमाथि १–० को जितले ब्राजिललाई २०१४ को विश्वकपमा पाएको पराजयमा मानसिक रूपमा दबाबबाहिर राखेको छ । ‘७–१ को पराजय हाम्रो दिमागमा छैन, अब हाम्रो स्तर विश्व च्याम्पियन्स बराबर भइसकेको छ । हामी पुन: इतिहास लेख्न चाहन्छौं,’ ब्राजिली रक्षक थिएगो सिल्भाले भने ।

‘हामीसँग ठूलो आत्मविश्वास छ,’ मिडफिल्डर पाउलिन्होले भने, ‘धेरै हिसाबमा ब्राजिलले राम्रो तयारी गरेको छ । यो फुटबलको एउटा हिस्सा हो । चार वर्षमा धेरै सिक्न सकिन्छ ।’ 

ब्राजिलले खेल्न लागेको स्वीट्जरल्यान्ड त्यही टोली हो, जो विश्व वरीयताको छैटौं स्थानमा छ । छनोट चरणमा लगातार नवौ खेल जितेपछि स्वीस टोली यो स्थानमा आएको हो । तर क्लब स्तरमा खेल्दा स्विस खेलाडीको प्रदर्शन ठीक उल्टो छ । विङ्गर जेर्डान साकिरी खेलेको क्लब स्टोक सिटी इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको थियो । ग्रानिट झाकाले आर्सनलबाट एकरुपको प्रदर्शन गर्न सकेनन् भने फरवार्ड ह्यारिस सेफेरोभिकले २०१८ मा पोर्चुगिज हस्ती बेन्फिकाबाट एउटै खेल प्लेइङमा खेलेनन् ।