प्रधानमन्त्री केपी शर्मा ओली यही असार ५ गतेदेखि  औपचारिक चीन भ्रमणमा

प्रधानमन्त्री केपी शर्मा ओली यही असार ५ गतेदेखि औपचारिक चीन भ्रमणमा

३५८ पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीको यही असार ५ गतेदेखि हुने औपचारिक चीन भ्रमणमा करिव एक दर्जन सहमति र सम्झौता हुने भएका छन् । तर, यातायात तथा पारवहन प्रोटोकलले भने अन्तिम रुप नपाउने भएको छ । 
प्रधानमन्त्रीको भ्रमणमा चीनको स्वशासित क्षेत्र (तिब्बत) का राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठ वटा सीमा नाका खोल्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुने भएको छ । साथै केरुङ–काठमाडौँ रेल मार्ग निर्माण, दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ । 
त्यसैगरी नेपालको उत्पादन क्षमता अभिवृद्धि सम्बन्धमा नेपाल र चीनका अर्थ मन्त्रालयबीच सहकार्य, ऊर्जा सहायता तथा सीमापार प्रसारण लाइन निर्माण, कृषिमा साझेदारी र सात वटै प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार केन्द्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । 
प्रधानमन्त्रीबाट भ्रमणका क्रममा चीनका उच्च राजनीतिक नेतृत्वसँग हुने राजनीतिक परामर्श र दुई देशका प्रधानमन्त्री नेतृत्वमा हुने प्रतिनिधिमण्डल स्तरीय वार्ताले पारस्परिक सम्बन्धलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ ।
दुई देशका प्रधानमन्त्रीसंग प्रतिनिधिमण्डल वार्ता हुनेछ भने दुई पक्षीय सहमतिका लागि प्रतिनिधि मण्डलमा रहेका मन्त्री तथा सचिवहरुले आआफ्नो खाका प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसको तयारीका लागि नेपालको एक टोली अहिले बेइजिङमा छ । प्रधानमन्त्री ओलीको चीनका राष्ट्रपति सी चिनफिङसंगको वार्ता र अन्य छलफलले दुई देशबीचको सम्बन्ध उचाईमा पुग्ने विश्वास लिइएको छ ।।