थप हवाइ रूटबारे भारतसँग छलफल हुँदै

थप हवाइ रूटबारे भारतसँग छलफल हुँदै

१० पटक पढिएको

भारतबाट नेपाल प्रवेश हुने थप हवाइ रूटबारे दुई देशका अधिकारीबीच काठमाडौंमा छलफल सुरु भएको छ। 

राजधानीको एक होटलमा बिहीबार बिहानदेखि छलफल जारी छ।

छलफलमा नेपालमा बनिरहेका अन्तर्राष्ट्रिय विमानस्थलका लागि चाहिने रूट भारतले उपलब्ध गराउने र नेपालका तराई क्षेत्रका विमानस्थलबाट भारतीय सहरमा हुने सीमापार उडानबारे कुरा हुने नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।

छलफलमा भारतीय विमानस्थल प्राधिकरणका एयर नेभिगेसन प्रमुख एके दत्ता नेतृत्वको टोली सहभागी छ। नेपाली पक्षको नेतृत्व प्राधिकरणका एयर नेभिगेसन प्रमुख नरेन्द्रबहादुर थापाले गरेका छन्। छलफल शुक्रबारसम्म चल्नेछ।

नेपाल–भारतको हवाइ सम्झौतामा नेपालले माग गरेका हवाइ रूट उपलब्ध गराउन भारत सैद्धान्तिक रूपमा सहमत भइसकेको छ। 
सम्झौताको ९ वर्ष बित्दा पनि नेपालले थप हवाइ रूट पाएको छैन।

अहिले भारतीय आकाशबाट सिमरा हुँदैमात्र जहाज नेपाल आउन पाउँछन्। नेपालले जनकपुर, भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरमा हवाइ रूट माग गरेको छ।