रानीपोखरीमा सकियो साढे २ करोड, दोस्रो पटक टेन्डर आह्वान हुँदै

रानीपोखरीमा सकियो साढे २ करोड, दोस्रो पटक टेन्डर आह्वान हुँदै

१७५ पटक पढिएको

काठमाडौं महानगरपालिका रानीपोखरी पुनर्निर्माण गर्न दोस्रो पटक टेन्डर आह्वान गर्ने भएको छ। पुनर्निर्माणका लागि डिजाइन तयार भइसकेको छ। अनुमानित खर्च निकाल्न बाँकी रहेको महानगरपालिकाले जनाएको छ।

महानगरको शहरी पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले यही साताभित्र टेन्डर आह्वान हुने जानकारी दिए।  

भूकम्प गएकै वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाटै पुनर्निर्माण अभियान सुरु गरेकी थिइन्।

पुनर्निर्माणका लागि रानीपोखरीमा २ करोड ३० लाख रुपैयाँ सकिएको छ।

रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण पुरातत्व विभागले गरिरहेको छ। महानगरले बाँकी भाग पुनर्निर्माण गर्न टेन्डर आह्वान गर्न लागेको हो।

‘पुनर्निर्माणको कुल लागतमध्ये २ करोड ३० लाखको भरपाई भइसकेको छ,’ महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘पुरातत्व विभागले हामीले गरेको काम भएन भनेपछि वर्ल्ड वाइड कँडेल के एण्ड केजी जेभीसँगको ठेक्का रद्ध गरेर अर्को टेन्डर आवहनको तयारी गरेका हौं।’

कम्पनीले २ करोड ३० लाखमा संरचना भत्काउने, प्याराफीटमा ग्रिनरीको बनाउने, पोखरी सफा गर्ने, वरिपरि पैदल मार्ग बनाउने र ढुङगा लगाउने, पोखरी सुकाउने, त्यहाँको  स्थानान्तरण गर्न र मन्दिरको जग हाल्नमा खर्चेको छ।

कम्पनीसँग रानीपोखरी ७ करोडमा बनाउने भनेर सम्झौता भएको थियो।

‘बालगोपालेश्वर मन्दिर पुनर्निर्माणमा विवाद आएपछि विभाग र हामी बसेर छलफल गरेरै विभागले बनाउने निर्णय भएको थियो। निर्णयअनुसार अहिले उसले बनाइरहेको छ,’ महानगरका प्रवक्ता कार्कीले भने।

२०७३ वैशाख १० देखि ठेकेदार कम्पनी वर्ल्ड वाइड कँडेल के एण्ड केजी जेभीले काम थालेको थियो।  

सिमेन्ट, ढुंगा, रोडा, गिटीलगायत कंक्रिट प्रयोग गरी पुनर्निर्माण थालिएपछि स्थानीयले विरोध गरे। विरोधपछि पुरातत्व विभागले काम रोक्न निर्देशन दियो।

विभागको निर्देशनपछि २०७४ चैतमा सो कम्पनीसँगको ठेक्का रद्ध भयो।

रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको जिम्मा विभाग आफैंले लिएको छ। महानगरपालिकाले बगैचा, पर्खाल र पोखरी निर्माणको जिम्मा पाएको छ। 

‘हाम्रो काममा चित्त नबुझेको भन्दै विभाग आफैंले बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गरिहेको छ,’ शहरी पूर्वाधार विभाग प्रमुख थापाले भने, ‘हामी पनि मन्दिर बाहेकका भाग पुनर्निर्माणका लागि डिजाइन तयार गरिरहेका छौं।’

विभागले एक करोड ५० लाख रुपैयाँमा कडेल(राम जेभी) रानीवारीलाई ठेक्का दिएको हो। ठेकेदार कम्पनीले असार मसान्तसम्म काम सकाइसक्नुपर्ने भएपनि ठेकेदार कम्पनीको काम हेर्दा पुनर्निर्माण आगामी असारमा नसकिने देखिन्छ।

‘असारसम्म मन्दिर पुनर्निर्माण सक्ने लक्ष्य छ। यति नै प्रतिशत काम भयो भनेर रेकर्ड राखेका छैनौं,’ विभागका प्रवक्ता रामबहादुर कुँवरले भने, ‘उसले काम सकाएपछि बिल भरपाई पाउने हो।’

विभागका अनुसार बालगोपालेश्वर मन्दिर २०७२ वैशाख १२ को भूँइचालोकै स्वरूपमा पुनर्निर्माण भइरहेको छ।

राजा प्रताप मल्लले माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले १७ औं शताब्दीमा उक्त पोखरी निर्माण गरेका थिए। पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन र चक्रवर्तेन्द्रको सालिक पनि राजा प्रताप मल्लले निर्माण गराएका थिए। १९९० सालको भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप दिएका थिए।

अब पुनर्निर्माण हुने रानीपोखरी सोही अनुसारको निर्माण हुने महानगरपालिकाले जनाएको छ।