प्रदेश नम्बर ३ को राजधानी भक्तपुर

प्रदेश नम्बर ३ को राजधानी भक्तपुर

३२२ पटक पढिएको

भक्तपुर । ३ नम्बर प्रदेशको राजधानी भक्तपुर हुनेमा कुनै शंका नभएको प्रदेश नम्बर ३ का सांसद शशिजंग थापाले बताउनुभएको छ । पूर्वाधारण तथा भूगोलका रुपमा समेत उपयुक्त रहेका कारण ३ नम्बर प्रदेशको राजधानी भक्तपुर हुनेमा कसैलेपनि भ्रम पाल्न नहुने थापाले बताउनुभयो । 
क्यापिटल एफ.एमसँग विशेष कुराकानी गर्दै थापाले ३ नम्बर प्रदेश राजधानीका लागि आवश्यक पर्ने भौतिक संरचना रहेका कारण पनि भक्तपुर नै राजधानी उपयुक्त हुनेमा आफू निश्चिन्त रहेको बताउनुभयो ।

हाल प्रदेशको राजधानी कहाँ राख्ने ? भन्ने बिषयमा अध्ययन गर्नको निम्ति गठन भएको कार्यदलले समेत भक्तपुरलाई नै ३ नम्बर प्रदेशको राजधानी उपयुक्त हुने प्रतिवेदन पेश गर्नेमा आफू विश्वस्त रहेको थापाले बताउनुभयो । उहाँले भन्नुभयो,‘भूगोल र संरचनाको रुपमा समेत भक्तपुर प्रदेशको राजधानीका लागि उपयुक्त भएकोमा धेरै सांसदको एक मत रहेको छ ।’

भक्तपुरलाई राजधानी बनाउनको लागि काभ्रेपलाञ्चोक, नुवाकोट लगायत उपत्यकाका सबै सांसदहरुको एउटै मत भएकाले ३ नम्बर प्रदेशको राजधानी भक्तपुर हुनेमा कसैले पनि शंका नगर्न थापाले आग्रह गर्नुभयो । राजधानीका लागि उपयुक्त स्थानको सिफारिस गर्न बनेको कार्यदलले आगामी असार मसान्तसम्ममा प्रतिवेदन बुझाउने बताउँदै थापाले प्रदेशको नामाकरण समेत छिट्टै तय हुने बताउनुभयो ।

प्रदेश राजधानी भक्तपुर हुनुपर्ने मागसहित ३ नम्बर प्रदेश सभामा प्रस्ताव दर्ता भइसकेको बताउँदै थापाले बहुमत सदस्यले यसलाई अनुमोदन गर्ने दाबी गर्नुभयो ।