संघीय संसदको नियमावली मस्यौदा सहमती खोजिदै, आज दुवै समितिको बैठक

संघीय संसदको नियमावली मस्यौदा सहमती खोजिदै, आज दुवै समितिको बैठक

२२३ पटक पढिएको

काठमाडौं । संघीय संसदको नियमावली मस्यौदा लेखनमा देखिएको विवादमा सहमती जुटाउन प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदा समितिको बैठक आज बस्दैछ ।

विवादीत बिषयलाई अन्तिम रुप दिन प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठक दिउँसो एक बजे र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारमा बोलाईएको छ ।

एक महिनाभित्र मस्यौदा निर्माणको जिम्मेवारी पाएका दुवै समितिले गठन भएको करिब दुई महिना बितिसक्दा समेत सहमती जुटाउन सकेका छैनन । 

प्रतिनिधि तथा राष्ट्रिय सभा नियमावली मस्यौदा समितिमा सांसद निलम्बन, समितिको संख्या र राष्ट्रिय सभा सांसदको पदावधि तोक्नेबारे विवाद छ ।

संसद अधिवेशन बैशाख २१ गतेका लागि आह्वान गरिएपनि संघीय संसदको नियमावली अझै बन्न सकेको छैन । क्यापिटल समाचारसंग कुरा गर्दै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको सदस्य लक्ष्मणलाल कर्णले विवादीत बिषयमा सहमतीको प्रयास खोजिने बताउदै बहुमतबाट मस्यौदा पारित गर्न नहुने बताउनुभयो ।

राष्ट्रिय सभा नियमावली मस्यौदा समितिका सदस्य पर्शुराज मेघी गुरुङले मुख्य दुई बिषयमा दलहरुबीच विवाद रहेको जानकारी दिदै सहमतीमै मस्यौदा तयार गरिने बताउनुभयो ।

विवादीत बिषयमा एमाले र माओवादी नजिक देखिएका छन भने कांग्रेस र मधेश केन्द्रित दल एकमत राख्दै आएका छन् ।
विवादीत बिषयमा सहमती नभए बहुमतबाट टुङ्गो लगाउने तयारी समितिले गरेको छ ।